विराटनगरमा सुरक्षित सवारी सञ्चालनलाई प्रवर्द्धन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले “सुरक्षित चालक अभियान” निरन्तर सञ्चालन गरिरहेको छ। यसै क्रममा मंगलबार विराटनगर–१६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा सिटी सफारी चालकहरूलाई लक्षित गरी लाइसेन्स परीक्षण तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा चालकहरूलाई बिना सवारी चालक अनुमति पत्र (लाइसेन्स) सवारी नचलाउन कडाइका साथ आग्रह गरिएको छ।

साथै, सुरक्षित र कानुनी रूपमा सवारी सञ्चालन गर्न अभियानमा सहभागी हुन पनि अनुरोध गरिएको ट्राफिक प्रमुख सन्तोष न्यौपानेले बताएका छन्। उनका अनुसार सवारी सञ्चालनलाई सुरक्षित बनाउनु र कानुनी प्रक्रिया अनिवार्य गराउनु नै अभियानको मुख्य उद्देश्य हो।
उक्त जनचेतनामूलक कार्यक्रममा सुनसरी जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक कविन राई लगायतको संयुक्त टोलीको उपस्थिति रहेको थियो।

परीक्षणका क्रममा ११ जना चालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी, विराटनगरमा राखिएको प्रहरीले जनाएको छ।
