विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सिटी सफारी (सिटी रिक्सा) हरूको बढ्दो अव्यवस्था र दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले “सुरक्षित चालक” नामक विशेष अभियान सञ्चालन गरेको छ।
ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाउने, भारतीय नागरिक समेतले अवैधरूपमा सिटी सफारी सञ्चालन गर्ने, ट्राफिक नियमको जानकारी तथा पालना नगर्ने, अनुभवहीन चालक, अव्यवस्थित पार्किङ, ओभरलोड, तीव्र गति तथा मादक पदार्थ सेवन (मा.प.से.) र लागूपदार्थ सेवन (ला.प.से.) गरेर सवारी चलाउने जस्ता कारणले सिटी सफारी असुरक्षित बन्दै गएको जनाएको छ।
ट्राफिक प्रहरीले स्वास्थ्यप्रति सचेत नागरिकले खाद्यान्नको गुणस्तर जाँचेर मात्र उपभोग गरेझैँ सडक सुरक्षाको जोखिमलाई समेत विश्लेषण गर्दै ट्राफिक प्रहरीद्वारा प्रमाणित “सुरक्षित चालक” को सेवा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।अभियानमा सहभागी चालकहरूले ट्राफिक प्रहरीबाट प्रमाणित विशेष ज्याकेट प्रयोग गर्नेछन्। ज्याकेटको पछाडि स्पष्ट रूपमा अंकित नम्बर नै चालकको आधिकारिक पहिचान खुल्ने जनाइएको छ।
