

सप्तरी, २७ माघ । सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अनिरूद्व प्रसाद सिंह यादब शनिवार एक समारोहका बीच जनता समााजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । बोदेवर्साइन नगरपालिकामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा उनी जसपामा औपचारिक रुपमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादव, पार्टीका नेता एवम् मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिह यादवले प्रदेश सभा सदस्य सिंहलाई गम्छा, माला र टिका लगाएर स्वागत गरेका छन् । पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए ।
सँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ । यस अघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए । वृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, नेता अमृतलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौं प्रभावशाली व्यक्तिहरु पार्टी प्रवेश गरेको पार्टीका मधेश प्रदेश मुख्य सचिव दिनेश कुमार यादवले जानकारी दिएका छन् ।