विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फ रहेको खाली मैदानमा विराट ट्रेड एक्स्पो सञ्चालनमा आएको छ ।
एक्स्पो १९ गतेसम्म, शनिबारसम्म सञ्चालनमा रहने आयोजकले जनाएको छ।
संघले करिब २ करोड ५० लाख रुपैयाँभन्दा बढी लागतमा आयोजना गरेको विराट ट्रेड एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशका २३० वटा स्टल रहेका छन्। एक्स्पोमा औद्योगिक तथा व्यापारिक क्षेत्रका विविध सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।
विराटनगरसहित कोशी प्रदेश तथा छिमेकी देश भारतका उपभोक्ताहरूले चार देशका उत्पादनको अवलोकनसँगै खरिद गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार विराट ट्रेड एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
मोरङ उद्योग व्यापार संघको ३४औँ कार्यकारिणी समितिका अध्यक्ष अनुपम राठीको नेतृत्वमा एक्स्पो आयोजना गरिएको हो। संघका सचिव अमित सारडालाई संयोजक तथा कार्यकारिणी समितिका सदस्य विनित सिंघानियाँलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ।
