राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा मतदान प्रक्रिया सम्पन्न भएको छ। विराटनगरस्थित निर्वाचन केन्द्रमा भएको मतदानमा ८७ जना प्रदेश सभा सदस्य तथा २५८ जना स्थानीय तहका पदाधिकारीले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
कोशी प्रदेशमा कूल ९२ जना प्रदेश सांसद र २६७ जना स्थानीय तहका प्रतिनिधि मतदाता रहेकामा अधिकांशको सहभागिता देखिएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन व्यवस्थाअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ तोकिएको छ।
कोशी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त हुने ३ पदमध्ये अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी दुई पद — महिला र दलित कोटाका लागि आइतबार मतदान भएको हो।
