मोरङ क्षेत्र नम्बर–५ प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार मनोज कुमार अग्रवाल ले ९ बुँदे प्रतिबद्धता’ सार्वजनिक गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवारी दिएका अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदातासमक्ष आफ्नो स्पष्ट योजना र कार्यदिशा प्रस्तुत गरेका थिए।
पूर्वाधार विकासमा प्राथमिकता
निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत पर्ने विराटनगर महानगरपालिकाका वडा नं. १३ देखि १८ सम्म, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका तथा रंगेली नगरपालिका का वडा नं. ४, ५, ६ र ७ भित्रका सम्पूर्ण सडकमा आगामी पाँच वर्षभित्र ढल–नाला निर्माणसहित कालोपत्रे गर्ने प्रतिबद्धता जनाइएको छ।
संस्कृति संरक्षण र प्रवर्द्धन
क्षेत्रभित्र बसोबास गर्ने सबै जाति तथा समुदायको भाषा, परम्परा र संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनका लागि पालिका स्तरीय सांस्कृतिक संग्रहालय तथा एक बृहत् क्षेत्रीय सांस्कृतिक संग्रहालय निर्माणमा पहल गरिने योजना सार्वजनिक गरिएको छ।
शिक्षा, स्वास्थ्य र रोजगार
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्ने, विराटनगरको दक्षिणी क्षेत्रसहित जहदा, धनपालथान र रंगेली क्षेत्रमा सरकारी तथा निजी लगानी प्रोत्साहन गरी कृषि तथा अन्य रोजगारमूलक उद्योग सञ्चालनमा जोड दिइने उल्लेख गरिएको छ।
कृषि, सिंचाइ र तटबन्धन
कृषि उत्पादन वृद्धि, प्रभावकारी सिंचाइ व्यवस्था तथा तटबन्धन निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।
उम्मेदवार अग्रवालले यी ९ बुँदे प्रतिबद्धतामार्फत क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना र आधारभूत पूर्वाधार सुधारलगायतका कुराहरू समावेश गरिएकाेछ।
