जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन ले अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदै स्वास्थ्य सेवामा नयाँ फड्को मारेको छ । ‘सबैका लागि गुणस्तरीय, प्रविधियुक्त र किफायती स्वास्थ्य सेवा’ भन्ने उद्देश्यसहित अस्पतालले विश्वस्तरीय उपकरण जडान गरी डायग्नोस्टिक इमेजिङ सेवाको विस्तार गरेको हो ।
अब मोरङको कटहरी तथा आसपासका बिरामीहरूले जटिल रोगको पहिचानका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ ।
फाउन्डेसनका अध्यक्ष योगेन्द्र मण्डलले एमआरआई र सिटी स्क्यान सेवा सञ्चालनलाई यस क्षेत्रकै स्वास्थ्य क्षेत्रमा “ऐतिहासिक कोशेढुंगा” को रूपमा व्याख्या गरेका छन् । उनका अनुसार अस्पताल नाफामुखी नभई सेवामुखी संस्थाका रूपमा सञ्चालन भएकाले न्यूनतम शुल्कमै अत्याधुनिक सेवा उपलब्ध गराइएको हो ।
उनले निजी अस्पताल तथा क्लिनिकहरूमा महँगो शुल्क तिर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा सेवा सुरु गरिएको बताए । यसबाट विशेषगरी न्यून आय भएका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
हाल अस्पतालले आकस्मिक तथा ट्रमा केयर, बहिरङ सेवा, मेडिसिन, सर्जरी, प्रसूति, ग्यास्ट्रोलोजी तथा दन्त रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । नयाँ प्रविधि थपिएसँगै आकस्मिक दुर्घटना तथा जटिल रोगको तत्काल पहिचान र उपचारमा थप सहजता हुने अस्पताल प्रशासनको भनाइ छ ।
समुदायमुखी स्वास्थ्य सेवामा सक्रिय रहँदै आएको अस्पतालले प्रविधियुक्त र मानवीय स्वास्थ्य सेवालाई सँगसँगै अघि बढाउने प्रतिबद्धताजनाएको छ।
