विराटनगर, विराटनगरमा आयोजित मधेसी एकता सम्मेलनमा सहभागी वक्ताहरूले मधेसी समुदायको अधिकार, पहिचान र विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
राजनीतिककर्मी उमेश यादवको संयोजन तथा मधेसी उत्थान विचार मञ्चको आयोजनामा आइतबार सम्पन्न सम्मेलनका प्रमुख अतिथि संविधान सभा सदस्य तथा उद्योगी पवन सारडाले मधेसी, थारु, मुस्लिम र मारवाडी समुदाय जातिगत रूपमा विभाजित नभई संगठित रूपमा अघि बढे मात्र अधिकार सुनिश्चित गर्न सकिने बताए।
उनले समुदायभित्रको एकता र सहकार्यले राजनीतिक, सामाजिक तथा आर्थिक सशक्तीकरणको मार्ग प्रशस्त गर्ने उल्लेख गरे।
सम्मेलनमा विभिन्न राजनीतिक दलमा आबद्ध मधेसी नेता, सामाजिक अगुवा तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री प्रहलादप्रसाद साहले अधिकार प्राप्तिका लागि मधेसी समुदाय एक ढिक्का भएर अघि बढ्नु आजको आवश्यकता भएको बताए।
राजनीतिककर्मी तथा सामाजिक व्यक्तित्व सनातन मण्डलले मधेसी समुदायका नेताहरूले गुलामी मानसिकता त्यागेर समुदायको हितका लागि दृढतापूर्वक लाग्नुपर्ने धारणा राखे। उनले मानसिक रूपमा स्वतन्त्र नभएसम्म समुदायले अपेक्षित अधिकार प्राप्त गर्न नसक्ने बताए।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र मधेसी बाहुल्य भए पनि विकासका दृष्टिले पछाडि परेको गुनासो गरे। उनले विकास निर्माणमा जातीय विभेद र रंगभेदको प्रभाव देखिएको आरोप लगाए।
कार्यक्रमका आयोजक तथा मधेसी उत्थान विचार मञ्च विराटनगरका अध्यक्ष उमेश यादवले विभिन्न राजनीतिक दलमा रहेका मधेसी समुदायका व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याई साझा मुद्दामा एकजुट गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए।
सम्मेलनमा सहभागी वक्ताहरूले मधेसी समुदायको हक, अधिकार, प्रतिनिधित्व र विकासका सवालमा साझा धारणा निर्माण गर्दै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका
