

नेपाल पत्रकार महासंघ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दुई पत्रकारलाई पुरस्कृत र एक वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ।
मोरङको पत्रकार महासंघले षष्ठीका बस्नेत सूचनाको हक पुरस्कारबाट भोजपुरका पत्रकार किशोर बुढाथोकीलाई एक लाख एक हजार रुपैयाँसहित पुरस्कृत गरेको छ। सूचनाको हक सम्बन्धी प्रोत्साहन पुरस्कार भने झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई २५ हजार रुपैयाँ राशिसहित प्रदान गरिएको छ। सोही कार्यक्रममा अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको छ।
भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाका बुढाथोकी करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूचनाको हक प्रयोग गर्दै प्रदेश सरकार र कर्मचारीहरूमाझ सुशासन र पारदर्शिता कायम गर्न पत्रकारहरू अग्रसर रहेको उल्लेख गरे। उनले सत्यतथ्य सूचनालाई आमजनसम्म पु¥याउन पत्रकारहरूले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
त्यस्तै, विराटनगर महानगर प्रमुख नागेश कोइरालाले सञ्चारकर्मीहरूलाई समाजमा विद्यमान विकृति, भेदभाव, छुवाछुत, बालविवाह र महिला हिंसा नियन्त्रणमा कलमको माध्यमबाट भूमिका खेल्न सुझाव दिए।
उक्त अवसरमा पुरस्कार कोषका संस्थापक केदारबहादुर बस्नेत, महासंघ केन्द्रीय सदस्य कमल रिमाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ उपाध्यक्ष सन्तोष सिग्देल र पूर्व प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले सूचनाको हकको पहुँच विस्तारमा यस्ता पुरस्कारले सहयोग पुगेको बताए।
सूचनाको हकको क्षेत्रमा सक्रिय रही नीति निर्माण, सुशासन र नागरिक जागरणमा योगदान पुर्याउने व्यक्तिलाई यो पुरस्कार प्रत्येक वर्ष महासंघको स्थापना दिवसमा प्रदान गरिँदै आएको छ।