

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लिम्बुवान राष्ट्रिय समितिले आफ्नो प्रथम एकताको अधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
धरानको हरियाली सामुदायिक भवनमा असार १ गते सम्पन्न हुने जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । ‘हामीले अधिवेशनको आवश्यक सबै तयारी पूरा गरेका छौँ । कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति बनाएर कार्य गरेका छौँ’, समितिका मुख्यसचिव सञ्जय मेवाहाङ राईले भने ।
प्रचार प्रसार, खाद्यान्न व्यवस्थापन, आवास, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, अतिथि सत्कारलगायत विभिन्न नौ वटा उपसमितिमा समितिका पदाधिकारी र सदस्यलाई जिम्मेवारी तोकिएको राईले बताए ।
पार्टी अध्यक्ष यादवले उद्घाटन गर्ने
जसपा लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले गर्ने बताइएको छ ।
त्यस्तै सह अध्यक्ष एवम् पूर्वमन्त्री रकम चेम्जोङलगायत पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रममा पूर्वी नेपालका धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलामसहित झापा, मोरङ र सुनसरी जिल्लाका माथिल्लो भूगोलबाट र जनवर्गीय संगठनका गरी पाँच सय बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने समितिकी उपाध्यक्ष ओममाया आङ्देम्बेले जानकारी दिइन् ।
जेठ ३१ गते साँझ ५ बजेसम्म प्रतिनिधि पर्यवेक्षकको सूची दर्ता गरिसक्ने र असार १ गते दिउँसो उद्घाटनसत्र सम्पन्न भई बन्दसत्र सोही दिन राति सम्पन्न गर्नेगरी कार्यक्रम तय भएको मुख्यसचिव राईले जानकारी दिएका छन् ।
जसपा नेपालले हालको सङ्घीय संरचना सङ्घीयताको मर्म र भावनाअनुरुप नभएको निष्कर्ष निकालेर राज्य पुनः संरचना आयोगले दिएको सुझावका आधारमा दश जोड एक प्रदेशमा जानुपर्ने बताउँदै आएको छ । उसले आफ्नो पार्टी संरचनामै लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, ताम्सालिङ, नेवाः, तमुवान, मगरात, खसान, थरुहट र एउटा देशैभर कायम हुनेगरी गैरभौगोलिक दलित शिल्पी प्रदेशको पार्टी समिति निर्माण गरी अभ्यास गर्दै आएको छ ।
आफ्नो पार्टी दस्तावेजमै थातथलो खुलेका जातिहरुका लागि राजनीतिक इकाईसहितको स्वायत्तता, संरक्षित र विशेष क्षेत्र घोषणाको माग गर्दै आएको छ ।