विराटनगर — ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र कञ्चनवारी आफ्नो स्थापना भएको २५औँ वर्षमा प्रवेश गरेको छ। २५ वर्षअघि भाडाको घरबाट सेवा सुरु गरेको उक्त केन्द्र अहिले आफ्नै जग्गामा सुविधा सम्पन्न चार तल्ले भवन निर्माण गरी सञ्चालनमा आएको छ।
उक्त भवन निर्माणका लागि इन्द्रमणी माताजीले कञ्चनवारी चोकमा रहेको १३ धुर जग्गा दान गर्नुभएको थियो। करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको भवन दाताहरूको सहयोगबाट तयार गरिएको हो। उपसेवा केन्द्र कञ्चनवारीका प्रमुख रोमा दिदीका अनुसार सामूहिक सहयोगकै कारण भवन निर्माण सम्भव भएको हो।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेश, विराटनगरकी प्रमुख गीता दिदीले रजत जयन्तीको अवसरमा वैशाख४ गतेदेखि १२ गतेसम्म विविध कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
कार्यक्रम अन्तर्गत वैशाख ४ गते पत्रकार सम्मेलन, ६ गते निःशुल्क आँखा शिविर तथा रक्तदान, ७ गते शिक्षक तथा शिक्षाविद्हरूको स्नेह मिलन एवं सम्मान, र ८ गते संघ–संस्था तथा समाजसेवीहरूको स्नेह मिलन एवं सम्मान कार्यक्रम राखिएको छ। वैशाख १२ गते रजत जयन्ती महोत्सवको समुद्घाटन गरिने बताइएको छ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी. अधिकारीले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको निस्वार्थ सेवा उदाहरणीय रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र संखुवासभाकी प्रमुख रचना दिदीको समेत सहभागिता रहेको थियो।
