विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज जेठ १७ गते हिमालयन रोड किताब मेला २०८३ आयोजना हुने भएको छ।
आयोजकहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा भएको जानकारी दिएका छन्। ग्रीन सिटी भोलुन्टियर्स विराटनगरकी कृतिका मण्डलका अनुसार मेलाको मुख्य उद्देश्य पठन संस्कृतिको प्रवर्द्धन गर्नु, पुस्तक पसलहरूलाई समेट्नु, पाठक र लेखकबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु तथा बौद्धिक विमर्शको वातावरण सिर्जना गर्नु रहेको छ।
त्यसैगरी, नितु सेनले समाजमा ज्ञानको पहुँच सहज बनाउँदै नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि र रचनात्मक चिन्तनको विकास गर्न मेलाले महत्वपूर्ण योगदान पुर्याउने बताइन्।
दिगो विकास इन्स्टिच्युटका अभिषेक श्रेष्ठका अनुसार मेलाका प्रमुख आकर्षणमा पुस्तक प्रदर्शनी, साहित्य कुना तथा पाठकहरूका लागि बसेर पढ्न सकिने साहित्यिक वातावरण रहनेछ।
दिउँसो १ बजेदेखि सुरु हुने मेलाको पहिलो सत्रमा ‘विराटनगरमा साहित्य विगतदेखि वर्तमानसम्म’ विषयमा छलफल हुनेछ। उक्त सत्रमा खेमराज नेपाली, निर्मला कोइराला र कर्ण सन्जय वक्ताका रूपमा सहभागी हुनेछन्।
त्यसैगरी दोस्रो सत्रमा ‘नेपाली वाङ्मय र विराटनगर’ विषयमा मनु मन्जिल, दिनेश श्रेष्ठ र सगुना साहले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
