शैक्षिक सुधारको उज्यालो यात्रामा धनपालथान

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०८३

मुकेश कुमार यादव
कुनै पनि समाज कति सभ्य र समृद्ध छ भन्ने कुरा त्यहाँको शिक्षाको स्तरले देखाउँछ। शिक्षित नागरिक नै सक्षम समाज र सफल स्थानीय तहका आधार हुन्। यही यथार्थलाई आत्मसात गर्दै मोरङको दक्षिणी सीमावर्ती धनपालथान गाउँपालिकाले शिक्षालाई आफ्नो विकासको मुख्य केन्द्रविन्दु बनाएको छ।
अहिले गाउँपालिका विद्यालयको भौतिक पूर्वाधार सुधार्ने अभियानमा जुटेको छ। यसका साथै शिक्षण सिकाइको गुणस्तर बढाउने, शिक्षालाई प्रविधिमैत्री र सीपमूलक बनाउने तथा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ पालिकाले ‘शैक्षिक रूपान्तरण’ सुरु गरेको छ।
केही वर्षअघिसम्म धनपालथानको शैक्षिक अवस्था निकै कमजोर थियो। धेरै अभिभावक आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिनका लागि छिमेकी पालिका वा सहरका निजी विद्यालयमा पठाउन बाध्य थिए।
त्यतिबेला यहाँका विद्यालयहरूमा पर्याप्त कक्षाकोठा थिएनन्। पुस्तकालय र विज्ञान प्रयोगशालाको त नामनिसानै थिएन। सूचना प्रविधिको प्रयोग शून्यप्रायः हुँदा विद्यार्थीको सिकाइ उपलब्धि निकै कमजोर थियो। तर, स्थानीय सरकारको सक्रियतापछि यो चित्र अहिले तीव्र रूपमा बदलिँदै गएको छ।
वर्तमान अवस्थामा धनपालथान गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी २९ वटा सामुदायिक, ११ वटा निजी (संस्थागत) र ४ वटा धार्मिक विद्यालय सञ्चालनमा छन्। यसरी पालिकाभित्र कुल ४४ वटा विद्यालयहरू क्रियाशील रहेका छन्। यी विद्यालयहरूमा कुल १३ हजार ३२० जना विद्यार्थीहरू अध्ययनरत छन्। उनीहरूलाई पढाउनका लागि राहत, करार, स्थायी र अनुदान गरी कुल २१० जना शिक्षक तथा अन्य कर्मचारीहरू कार्यरत रहेका छन्।
गाउँपालिकाले यी सबै विद्यालयमा सिकाइको वातावरण सुधार गर्न विभिन्न प्रयासहरू गरेको पाइन्छ। यसका लागि स्मार्ट कक्षा सञ्चालन, कम्प्युटर शिक्षाको विस्तार, दिवा खाजा व्यवस्थापन र विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ।
गाउँपालिकाका अध्यक्ष जिवछ कुमार गच्छदार शिक्षालाई समृद्धिको बलियो जग मान्नुहुन्छ। आज शिक्षामा गरिएको लगानीले नै भोलिको समृद्ध धनपालथान निर्माण गर्ने उहाँको दृढ विश्वास छ।
अध्यक्ष गच्छदारको भनाइमा प्रत्येक बालबालिकालाई गुणस्तरीय, प्रविधिमैत्री र व्यावहारिक शिक्षा उपलब्ध गराउनु नै पालिकाको मुख्य लक्ष्य हो। आर्थिक अवस्था, जाति, भाषा वा धर्मका आधारमा कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनुहुँदैन भन्ने मान्यताका साथ पालिका अघि बढेको छ।
शैक्षिक सुधारकै क्रममा पालिकाले नयाँ नीतिहरू पनि अघि सारेको छ। विद्यालयमा अनुशासन र पारदर्शिता कायम राख्न शिक्षक तथा कर्मचारीका कोठाहरूमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। साथै, विद्यालयहरूमा तहगत प्रकोष्टको व्यवस्थापन गरिएको छ।
सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन नर्सरी कक्षादेखि कक्षा ५ सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने नीति लिइएको छ। यसअघि नै अंग्रेजी माध्यममा पढाइ सुरु गरिसकेका सरस्वती मावि दादरवेरिया, जनता मावि अमाहीवर्याती, गौतम बुद्ध आधारभूत विद्यालय र हंसवाहिनी लगायतका विद्यालयहरूको अनुभवलाई पालिकाले अन्य विद्यालयमा पनि विस्तार गर्दै लगेको छ।
विद्यालय शिक्षामा मात्र होइन, धनपालथानले उच्च शिक्षाको क्षेत्रमा पनि ठूलो फड्को मारेको छ। धनपालथान गाउँपालिका–६ का वडा अध्यक्ष तथा सरस्वती पब्लिक क्याम्पस, दादरवेरियाका संस्थापक अध्यक्ष महम्मद हुसेनको विशेष पहलमा वि.सं. २०७८ सालदेखि क्याम्पसमा बीबीएस र बीएड कार्यक्रम सञ्चालनमा आएको थियो।
यसअघि धनपालथानका विद्यार्थीहरू उच्च शिक्षाका लागि अन्य सहर वा क्षेत्रमा जानुपर्ने बाध्यता थियो। क्याम्पसमा यी कार्यक्रम सञ्चालन भएपछि स्थानीय स्तरमै उच्च शिक्षा अध्ययन गर्ने ढोका खुलेको छ।
वडा अध्यक्ष हुसेनका अनुसार हाल सरस्वती पब्लिक क्याम्पसमा कम्प्युटर एप्लीकेशनमा स्नातक (बीसीए) अध्ययन गरिरहेका विद्यार्थीहरूलाई गाउँपालिकाबाट ५० प्रतिशत शुल्क अनुदान प्रदान गरिँदै आएको छ। यस कदमले सूचना प्रविधि शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण बढाउनुका साथै आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ठूलो राहत पुर्‍याएको छ।
गाउँपालिका उपाध्यक्ष नसिमा बानोका अनुसार शिक्षामा सुधार केवल विद्यालयको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समुदायको साझा अभियान हो। बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीच बलियो सहकार्य आवश्यक रहेको उहाँ बताउनुहुन्छ।
यस्तै, शिक्षा क्षेत्रमा छुट्याइएको बजेटलाई खर्चको दृष्टिकोणबाट नभएर ‘भविष्यको लगानी’का रूपमा हेरिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडाको बुझाइ छ। नीति, योजना र बजेटबीच समन्वय गर्दै विद्यालयको वास्तविक आवश्यकता अनुसार कार्यक्रम सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ।
पारदर्शिता, जवाफदेहिता र नियमित अनुगमनमार्फत शिक्षा क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने गाउँपालिकाको उद्देश्य छ। आधुनिक प्रविधिसँग जोडिएको गुणस्तरीय शिक्षा, सक्षम शिक्षक र जिम्मेवार अभिभावकको सहकार्यबाट मात्र प्रतिस्पर्धी नयाँ पुस्ता तयार गर्न सकिने प्रशासनिक नेतृत्वको विश्वास छ।
धनपालथानको यो शैक्षिक सुधार अभियान भौतिक भवन निर्माणमा मात्र सीमित छैन। बालबालिकाको सिर्जनशीलता, नैतिक शिक्षा, अनुशासन, वातावरण संरक्षण, खेलकुद र स्थानीय ज्ञानलाई पनि पाठ्यक्रमको हिस्सा बनाउने प्रयास भइरहेको छ।
वडा नं. ४ स्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापक पालिकाको यो प्रयासबाट निकै उत्साहित हुनुहुन्छ। उहाँका अनुसार पहिले विद्यालयमा चक र डस्टरको भरमा मात्र परम्परागत रूपमा पढाइन्थ्यो, तर अहिले गाउँपालिकाको सहयोगमा आइसिटी ल्याब र डिजिटल बोर्डहरू आएका छन्। यसले विद्यार्थीको उपस्थिति र पढ्ने रुचि दुवैमा उल्लेखनीय सुधार ल्याएको छ।

0-4608×3456-0-0-{}-0-12#


यस्तै सकारात्मक अनुभव धनपालथान–५ का स्थानीय अभिभावक रामेश्वर मण्डलको पनि छ। उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “पहिले सरकारी स्कुलको अवस्था सोचेर छोराछोरीलाई महँगो खर्चमा सहर पठाउने कि भन्ने चिन्ता हुन्थ्यो। तर अहिले गाउँकै स्कुलका भवनहरू राम्रा भएका छन् र निजी स्कुलमा जस्तै कम्प्युटरबाट पढाइ हुन थालेको छ। यसले हाम्रो खर्च पनि जोगिएको छ र छोराछोरी आफ्नै आँखाको अगाडि सुरक्षित छन्।”
धनपालथान गाउँपालिकाले शिक्षा क्षेत्रमा अघि सारेका योजनाहरू र यसको भुइँतहको कार्यान्वयनले समाजमा सकारात्मक परिवर्तनको संकेत गरिसकेको छ। अहिले विद्यालयहरूमा बालिएको ज्ञानको दीपले भोलिको धनपालथानलाई उज्यालो बनाउने निश्चित छ।
चुनौतीहरू अझै पूर्ण रूपमा समाप्त भइसकेका छैनन्, तर योजनाबद्ध लगानी र सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता कायम रहने हो भने आगामी दशकमा धनपालथान गाउँपालिका कोशी प्रदेशकै एउटा ‘नमुना शैक्षिक पालिका’का रूपमा स्थापित हुने बलियो सम्भावना देखिन्छ। आज कक्षाकोठामा गुन्जिएको आधुनिक र व्यावहारिक शिक्षाले नै भोलिको समुन्नत र आत्मनिर्भर धनपालथानको साझा सपना साकार पार्नेछ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]