विराटनगर–रानी–जोगबनी नाकामा BIT टोली परिचालन, सीमा सुरक्षा थप सुदृढ बनाइने ‎।

Logo
प्रकाशित सोमबार, साउन ११, २०८३


‎विराटनगर भन्सार नाकाबाट तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन तथा अवैध आवतजावत नियन्त्रणका लागि १४ सदस्यीय टोली नियमित रूपमा सीमाक्षेत्रमा खटिने भएकाे छ।
‎नेपाल–भारत सीमाको प्रमुख प्रवेशद्वार विराटनगर–रानी–जोगबनी मुख्य नाकामा आजदेखि Border Interaction Team (BIT) औपचारिक रूपमा परिचालनमा आएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, स्थानीय नागरिकसँग सहकार्य बढाउने तथा सीमा अपराध नियन्त्रणमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले १४ सदस्यीय BIT टोली परिचालनमा ल्याएको हो।

‎सशस्त्र प्रहरी बल, नेपाल बराह बाहिनी मुख्यालय, कोशी प्रदेशअन्तर्गत रहने उक्त टोलीले सीमाक्षेत्रमा नियमित निगरानी गर्नुका साथै स्थानीय नागरिक, व्यवसायी र सरोकारवालासँग समन्वय गर्दै सूचना आदानप्रदान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ।
‎बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) मनिस थापाको अवधारणाअनुसार गठन गरिएको BIT ले तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन, अवैध आवतजावतलगायत सीमा अपराध नियन्त्रणमा समुदायसँग सहकार्य गर्दै प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
‎औपचारिक परिचालन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्र बहादुर भण्डारी, सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक खड्कालगायत अधिकृतहरूको सहभागिता रहेको थियो। BIT मा सशस्त्र प्रहरीका प्रतिनिधिसँगै स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, युवा, महिला समूह तथा सञ्चारकर्मीको समेत सहभागिता रहने जनाइएको छ।
‎नेपाल–भारतबीचको अत्यन्त व्यस्त तथा संवेदनशील विराटनगर–जोगबनी नाकामा BIT को परिचालनले सीमा सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने विश्वास गरिएको छ।



दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]