विराटनगर । इलामका अग्रज राजनीतिज्ञ एवं लेखक धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ माथि सोमबार विराटनगरमा विमर्श गरिएको छ। नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा आयोजित कार्यक्रममा पुस्तकमा समेटिएको राजनीतिक इतिहास, बीपी कोइरालासँग लेखक गौतमको सामीप्य तथा पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका अनुभवबारे चर्चा गरिएको हो।
कार्यक्रममा लेखक गौतमले उक्त कृति बीपी कोइरालाको पूर्ण जीवनी नभई आफूले भोगेको राजनीतिक समय, बीपीसँगको निकटता र संघर्षका क्रममा देखे–भोगेका घटनाहरूको संस्मरणात्मक दस्तावेज भएको बताए। उनले नयाँ पुस्तालाई नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास बुझाउने उद्देश्यले पुस्तक लेखेको उल्लेख गरे।
पुस्तकमा बीपी कोइरालाले पञ्चायती व्यवस्थाविरुद्ध आह्वान गरेको संघर्ष, तत्कालीन राजनीतिक गतिविधि, प्रवासमा नेपाली प्रजातान्त्रिक आन्दोलनले भोगेका कठिनाइ तथा राष्ट्रिय मेलमिलापको नीति लगायत विषय समेटिएका छन्।
यसअघि काठमाडौंमा विमोचन भएको उक्त कृतिमाथि इलाम, फिक्कल र झापाको बिर्तामोडपछि विराटनगरमा पनि विमर्श गरिएको हो।
