विराटनगरमा इस्कोनले भव्य रूपमा श्रीकृष्ण जन्माष्टमी मनाउने
विराटनगर । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले यस वर्षको श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाउने भएको छ। इस्कोन विराटनगरको आयोजनामा आगामी भदौ १९ गते शुक्रबार विराटनगरस्थित जैन भवनमा विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रमसहित जन्माष्टमी मनाउन लागिएको हो।
आयोजकका अनुसार कार्यक्रममा श्रीश्री राधाकृष्ण, श्रीश्री गौर–निताई तथा श्रीश्री कृष्ण–बलरामको विशेष दर्शन, मङ्गल आरती, अभिषेक, श्रीनृसिंह यज्ञ, पूजा, भजन–कीर्तन, प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।
नेपाली मौलिक संस्कृति, सनातन वैदिक परम्परा तथा आध्यात्मिक चेतनाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको इस्कोन विराटनगरले जनाएको छ।
कार्यक्रम सञ्चालनका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा संकलित रकम रसुवामा बाढी तथा विपद्बाट प्रभावित परिवारको सहयोगमा खर्च गरिने आयोजक समितिले जनाएको छ।
पत्रकार सम्मेलनमा इस्कोनको आधिकारिक शाखाका रूपमा विराटनगरमा धार्मिक तथा आध्यात्मिक गतिविधि सञ्चालन हुँदै आएको जानकारी दिइएको थियो। इस्कोन सन् १९६६ मा अमेरिकाबाट स्थापना भएको र हाल विश्वका १५० भन्दा बढी देशमा फैलिएको तथा ८५० भन्दा बढी मन्दिर एवं केन्द्र सञ्चालनमा रहेको आयोजकले जनाएको छ।
