विराटनगर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले कोभिड १९ सर्भिलेन्स पुस्तिका सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयमा सोमबार अायाेजना भएको एक कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादबले पुस्तक सार्वजनिक गर्नुभयो ।
प्रदेश १ को उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा कोभिड १९ पोजिटिभको सीरम एन्टिबडी स्तर निर्धारण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्बेक्षण गरेको थियो । त्यही सर्बेक्षणको आधारमा उक्त पुस्तक प्रकाशनमा ल्याइएको हो ।
कोरोना महामारीको समयमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य कार्यालय मोरङ र सो सँग सम्बन्धित निकायले गरेको कामको सामाजिक विकास मन्त्री यादवले प्रशंसा गर्नुभयो । यस्ता कार्यले आगामी दिनमा पनि टेवा पुर्याउने उहाँले बताउनुभयो । जोखिमको समयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गरेको कामको मुल्याङकन गर्दै निर्देशक जयवेन्द्र यादवको नेतृत्वलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
पहाडी जिल्लामा कोभिडको केस पनि कम भएका कारण तराइका जिल्लाहरूमा मात्रै सर्बेक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । पहाडी जिल्लाबाट नमूना ल्याउन समय लाग्ने भएका कारण संकलन गरेको नमूना पनि ढिलो आइपुग्दा रिर्पोटमा समस्या हुन सक्ने भन्दै तराइका जिल्लालाई आधार मानेर सर्बेक्षण गरेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेशमा अध्ययन केन्द्र बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
यस अध्ययनमा सहभागीहरूको कुल संख्या १ हजार १५३ थियो । सहभागीहरूमध्ये सबैभन्दा बढी ३१ देखि ४० वर्ष र सबैभन्दा कम २० वर्ष उमेर समूहका थिए । ग्रामीण सहभागीहरूको तुलनामा अध्ययनले सहरी सहभागीहरूको संख्या बढी रहेको छ । यस अध्ययनमा समावेश गरिएका सहरी सहभागीहरूको उच्च संख्यालाई सहरी सहभागीहरूको स्वास्थ्य खोज्ने व्यवहार, सहरी क्षेत्रमा भीडभाड र सहरी क्षेत्रमा उच्च गतिशीलतासँग जोडेर हेरिएको छ । जसले गर्दा कोभिड १९ संक्रमण हुने उच्च सम्भावना हुन सक्छ ।
कोभिड १९ सँग सम्बन्धित कुनै लक्षण देखिएको कोभिड १९ एन्टिबडी स्तरको नतिजा तुलना गर्दा अध्ययनले कोभिड १९ को लक्षण देखिएका ९० प्रतिशतको तुलनामा कोभिड १९ को लक्षण नदेखिएका ८२ प्रतिशतमा प्रतिक्रियात्मक एन्टिबडी पाइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले बताउनुभयो ।
अध्ययन टोलीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, डाक्टर प्रतिक्षा कार्की र प्रकाश चन्द्र कार्की रहनु भएको थियो ।समाजिक विकास मन्त्री का स्वकीय सचिव देवेन्द्र प्रसाद यादवले वताए।