विराटनगर — विराटनगरमा शनिबारदेखि दुई दिने फोटो एण्ड भिडियो एक्स्पो आयोजना हुने भएको छ। फोटो ग्राफर संघ मोरङको आयोजनामा हुने एक्स्पो आइतबार सम्पन्न हुनेछ।
विराटनगर बसपार्कको उत्तरतर्फ रहेको आर.के. पार्टी प्यालेसमा एक्स्पो आयोजना गर्न लागिएको हो।
फोटो ग्राफर संघ मोरङका अध्यक्ष पुरन राईका अनुसार फोटो तथा भिडियो क्षेत्रमा प्रयोग भइरहेका आधुनिक प्रविधि, उपकरण र सेवाबारे सहभागी तथा अवलोकनकर्तालाई जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो।
एक्स्पोमा नयाँ प्रविधि, क्यामेरा, लेन्स, लाइटिङ तथा भिडियोसम्बन्धी विभिन्न उपकरणबारे जानकारी प्रदान गरिने अध्यक्ष राईले बताए।
फोटो एण्ड भिडियो एक्स्पोका संयोजक एकराज श्रेष्ठले एक्स्पो सम्पन्न गर्न करिब १५ देखि १६ लाख रुपैयाँ खर्च हुने जानकारी दिए।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले शनिबार एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
एक्स्पो बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। एक्स्पो अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
