कोशी अस्पतालले अतिक्रमित जग्गा चरणबद्ध रूपमा खाली गराउने, अत्यावश्यक सेवा तत्काल नहटाइने
विराटनगर। कोशी अस्पतालले आफ्नो नाममा दर्ता रहेको अतिक्रमित जग्गा चरणबद्ध रूपमा खाली गराउने औपचारिक घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले सेवा प्रवाहमा कुनै असर नपर्ने गरी कानुनी प्रक्रियाअनुसार अतिक्रमित जग्गा खाली गराइने जनाएको हो।
अस्पतालका नायब सुब्बा तथा जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार लामो समयदेखि निजी व्यवसाय, संघसंस्था तथा अन्य प्रयोजनमा प्रयोग हुँदै आएको अस्पतालको जग्गा सेवा विस्तार, नयाँ पूर्वाधार निर्माण तथा बिरामीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपयोगमा ल्याउन लागिएको हो।
अस्पतालले पहिलो चरणमा उज्ज्वल फार्मेसी, आरम्भ फार्मेसी, हिमालय किराना पसल, पुष्पी फास्ट फुड, बालाजी लिंक क्लिनिक, श्रीकृष्ण खाजाघर, साधना होटल, बुद्ध बेकरी, पूर्वाञ्चल नर्सिङ होम, द्विवेदी खाजाघर, राष्ट्रिय प्राविधिक विद्यालय समिति, मोरङ फार्मेसी तथा निउमा होटललगायत संरचना हटाइने जनाएको छ।
यस्तै, नेपाल रेडक्रस सोसाइटी परिसरभित्र रहेका सूचना डेस्क, क्यान्टिन र नागरिक सहायता केन्द्रजस्ता अस्थायी संरचनाको पनि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
तर जनस्वास्थ्य, सामाजिक तथा धार्मिक संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित ब्लड बैंक, क्षयरोग निवारण केन्द्र, देवकोटा पुस्तकालय, गणेश मन्दिर तथा क्षयरोग उपचारका लागि आवश्यक औषधि वितरणलगायत अत्यावश्यक सेवाहरू भने तत्काल नहटाइने स्पष्ट पारिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले ब्लड बैंक र क्षयरोग निवारण केन्द्रबाट दैनिक सयौं सेवाग्राही लाभान्वित भइरहेको तथा विशेषगरी औषधिप्रति प्रतिरोधी क्षयरोग (एमडीआर–टीबी)का बिरामीको उपचारमा अवरोध आउन नदिन तत्काल स्थानान्तरण नगर्ने निर्णय गरिएको बताए। देवकोटा पुस्तकालय सामाजिक तथा शैक्षिक महत्वको संस्था र मन्दिर धार्मिक आस्थासँग जोडिएको स्थल भएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म यथावत् सञ्चालन गर्न दिइने उनले जानकारी दिए।
डा. झाले अस्पतालको कानुनी स्वामित्वमा रहेको जग्गा उपयोग गर्नु अस्पतालको अधिकार भएको उल्लेख गर्दै भविष्यको सेवा विस्तार, नयाँ भवन निर्माण र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि अतिक्रमित जग्गा खाली गराउनु आवश्यक रहेको बताए।
पत्रकार सम्मेलनमा सरोकारवालाले अस्पतालको स्वामित्व अधिकार सुनिश्चित गर्दै ब्लड बैंक, क्षयरोग निवारण केन्द्र, देवकोटा पुस्तकालय र मन्दिरजस्ता अत्यावश्यक संस्थाका लागि वैकल्पिक स्थानको व्यवस्था भएपछि मात्र स्थानान्तरण गर्ने तथा आवश्यक परे अस्पताललाई उचित भाडा तिरेर सञ्चालन गर्ने विकल्पमा छलफल गर्न सुझाव दिएका छन्।
