विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलले गायन, नृत्य, नाटक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित फादर्स डे तथा बालदिवस मनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले गायन, नृत्य र नाटक प्रस्तुत गरेका थिए। विद्यार्थीले आँखामा पट्टी बाँधेर आफ्ना अभिभावक पहिचान गर्ने रोचक गतिविधिसमेत प्रस्तुत गरेका थिए। विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप आत्मीय बनाउने उद्देश्यले आयोजना गरिएको उक्त गतिविधिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
कार्यक्रममा अभिभावक र विद्यार्थीको सामूहिक नृत्यसमेत प्रस्तुत गरिएको थियो। सामूहिक नृत्यमा शिक्षक तथा कर्मचारीसमेत सहभागी भएपछि कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो। विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सहभागिताले विद्यालय परिसरमा उत्सवमय वातावरण सिर्जना गरेको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष सीएम श्रेष्ठले मार्टसका विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्देश्य रहेको बताए। विद्यार्थीलाई प्रदेश तथा देशका विभिन्न स्थानमा आयोजना हुने प्रतियोगितामा सहभागी गराएर आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर उपलब्ध गराइने उनले बताए।
श्रेष्ठका अनुसार विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान गर्ने अभियानसमेत सुरु गरेको छ। विद्यार्थीको रुचि र क्षमता पहिचान गरी सम्बन्धित क्षेत्रमा अघि बढ्न आवश्यक वातावरण निर्माण गरिने उनले बताए।
‘विद्यार्थीमा जुन क्षेत्रमा रुचि र क्षमता छ, त्यही क्षेत्रमा अघि बढ्ने अवसर विद्यालयले सिर्जना गर्छ,’ श्रेष्ठले भने।
उनले मार्टसका विद्यार्थी अध्ययनमा मात्र नभई खेलकुद, कला, संगीत, नृत्यलगायत अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको बताए। आगामी दिनमा यस्ता प्रतिभालाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउने विद्यालयको योजना रहेको उनको भनाइ छ।
विद्यालयका प्राचार्य विजय डाँगीले परिवारमा पिताको भूमिका र महत्वबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले फादर्स डे कार्यक्रम आयोजना गरिएको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई परिवार, अभिभावक र सम्बन्धको महत्व बुझ्न सहयोग पुग्ने उनको भनाइ छ।
डाँगीले विद्यालयले पाठ्यक्रममा आधारित शिक्षासँगै विद्यार्थीलाई नैतिकता, अनुशासन र संस्कार सिकाउने कामलाई पनि प्राथमिकतामा राखेको बताए। केवल पाठ्यक्रमको अध्ययनले असल नागरिक निर्माण नहुने भएकाले शिक्षासँगै व्यवहारिक ज्ञान र संस्कार आवश्यक रहेको उनले बताए।
‘विद्यार्थीलाई असल नागरिक बनाउन अध्ययनसँगै संस्कार, अनुशासन र नैतिक शिक्षा पनि आवश्यक छ,’ डाँगीले भने।
कार्यक्रममा सहभागी अभिभावकले विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान र विकासलाई प्राथमिकता दिएको भन्दै प्रशंसा गरेका थिए। अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समेत महत्व दिँदा विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकास हुने उनीहरूको भनाइ थियो।

0-0x0-0-0-{}-0-0#
विद्यालयले आगामी दिनमा विद्यार्थीको रुचि र क्षमताअनुसार विभिन्न विधामा प्रशिक्षण तथा प्रतियोगितामा सहभागितालाई निरन्तरता दिने जनाएको छ।
