विराटनगर, साउन २ — सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो ३०औँ वार्षिकोत्सव सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै विराटनगरस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध तथा अशक्त व्यक्तिलाई भोजन गराएर मनाएको छ।
बिहीबार आयोजित कार्यक्रममा विराटनगर–पोखरियास्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका ७१ जना वृद्ध तथा अशक्तलाई भोजन प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीले ३० वर्ष पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमका अनुसार कम्पनीले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्ता मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उहाँले समाजका ज्येष्ठ नागरिक, अशक्त तथा असहाय व्यक्तिप्रति सम्मान र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले मानव सेवा आश्रममा भोजन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
सलिकोले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् सहायता तथा मानव सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
