विराटनगरका आँखा अस्पताल सञ्चालक आन्दोलित, शिलबन्दी खोल्न माग।

Logo
प्रकाशित आइतबार, साउन ३१, २०८३

‎विराटनगरमा सञ्चालित आँखा अस्पतालका सञ्चालकहरू जिल्ला प्रशासन कार्यालय मोरङले गरेको शिलबन्दीको विरोधमा आन्दोलित भएका छन्।
‎जिल्ला प्रशासन कार्यालय मोरङले अघिल्लो साता विराटनगरका आँखा अस्पतालमा अनुगमन गरी संघीय सरकारको स्वास्थ्य निर्देशिकाविपरीत सञ्चालनमा रहेको भन्दै सात वटा आँखा अस्पतालमा शिलबन्दी गरेको थियो।
‎शिलबन्दी गरिएको अस्पतालको ताल्चा नखोलिए चरणबद्ध आन्दोलनसँगै कानुनी उपचारमा जाने चेतावनी आँखा अस्पताल संघ मोरङ तदर्थ संघर्ष समितिले दिएको छ। समितिले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।
‎समितिका संयोजक तथा विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले प्रशासनको निर्णय सच्याउन सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए।
‎समितिका सचिव तथा विराट आँखा अस्पतालका सञ्चालक तेजलाल कर्णले कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वीकृति लिएर सञ्चालनमा रहेका अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङले अधिकार क्षेत्रभन्दा बाहिर गएर शिलबन्दी गरेको आरोप लगाएका छन्न
‎शिलबन्दीपछि भारतीय सञ्चारमाध्यममा समेत विराटनगरका आँखा अस्पताल बन्द भएको समाचार प्रकाशित भइरहेकाले भारतबाट उपचारका लागि विराटनगर आउने बिरामी अन्योलमा परेको कर्णको भनाइ छ।
‎विराट आँखा अस्पतालका सञ्चालक राजेश प्रसाईंले काठमाडौंस्थित तिलगंगा आई केयरमा सरकारले बेड संख्या नतोकेको तर विराटनगरका आँखा अस्पतालमा भने बेड संख्यालाई आधार बनाएर कारबाही गरिएको भन्दै राज्यको दोहोरो नीतिप्रति आपत्ति जनाए।
‎त्यस्तै, विराट रानी आँखा अस्पतालका सञ्चालक फिरोज चौधरीले विराटनगरमा २१ देखि २२ वटा आँखा अस्पताल सञ्चालनमा रहेको र निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी रहेको बताए। उनले राज्यले निजी क्षेत्रको लगानीलाई जोखिममा पार्ने काम गरेको आरोप लगाउँदै तत्काल शिलबन्दी खोल्न माग गरे।
‎संघर्ष समितिले शिलबन्दी फुकुवा नभए आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउने जनाएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]