विराटनगर । मोरङ उद्योग व्यापार संघ ७५औँ वर्षमा प्रवेश गरेको छ । संघले ७५औँ वर्ष प्रवेशको अवसरमा मंगलबार विराटनगरमा ६९औँ वार्षिक साधारण सभा आयोजना गरेको छ ।
साधारण सभाका अवसरमा संघले पूर्वअध्यक्षहरू सुरेश शर्मा, देवेन्द्रराज गढिया, ताराचन्द खेतान, नन्दकिशोर राठी, खेमचन्द जैन, शंकरलाल अग्रवाल, महेश जाजु, पवनकुमार सारडा, अविनाश बोहरा तथा निवर्तमान अध्यक्ष नविन रिजाललाई सम्मान गरेको छ ।
२००७ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो तथा ऐतिहासिक निजी क्षेत्रको संस्थाका रूपमा रहेको मोरङ उद्योग व्यापार संघलाई वर्तमान उचाइमा पुर्याउन पूर्वअध्यक्षहरूले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको संघका अध्यक्ष अनुपम राठीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघका अध्यक्ष अनुपम राठीले पूर्वअध्यक्षहरूलाई सम्मान–पत्र प्रदान गरेका थिए ।
यसैबीच, संघ ७५औँ वर्षमा प्रवेश गर्दा संस्थाको नामसमेत परिवर्तन भएको छ । मोरङ व्यापार संघको ३३औँ कार्यसमितिका अध्यक्ष नविन रिजालको कार्यकालमा संस्थाको नाम परिवर्तन गरी मोरङ उद्योग व्यापार संघ राखिएको हो ।
मोरङ उद्योग व्यापार संघको इतिहासमा एउटै परिवारका तीन पुस्ताले अध्यक्षको नेतृत्व सम्हालेको इतिहाससमेत कायम भएको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना राठी परिवारबाट आस्करण राठी, नन्दकिशोर राठी र हालका अध्यक्ष अनुपम राठीले क्रमशः अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

0-0x0-0-0-{}-0-0#
पहिलो पुस्ताका अध्यक्ष आस्करण राठीको निधन भइसकेको छ भने दोस्रो पुस्ताका अध्यक्ष नन्दकिशोर राठी र तेस्रो पुस्ताका अध्यक्ष अनुपम राठी मंगलबार आयोजित साधारण सभामा सहभागी थिए ।
साधारण सभाकै अवसरमा ‘७५औँ वर्ष : शब्द र तस्बिर संग्रह’ नामक दस्ताबेज पुस्तकको पनि विमोचन गरिएको छ । मुख्यमन्त्री कार्की, संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
संघले संकटका समयमा निजी क्षेत्रका समस्या उठान गर्दै समाधानका लागि खेलेको भूमिकालाई समेटिएको वृत्तचित्रसमेत कार्यक्रममा प्रस्तुत गरेको थियो ।
