विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा अप्पन विराटगढ परोपकार समाजको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय जितिया पर्व समारोह–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल–भारत मैत्री, मिथिला पर्यटन तथा सांस्कृतिक महोत्सवका रूपमा आयोजित समारोहमा जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो।
मिथिला समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। समारोहमा नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्राइम अस्पताल विराटनगरका सिनियर फिजिसियन डा. रमेश चौरसिया, प्राइम अस्पतालका म्यानेजिङ डाइरेक्टर सनातन मण्डल, जनता समाजवादी पार्टी (जसपा) विराटनगरका नगर सचिव रामचन्द्र यादव, रामरिझन यादव लगायतले जितिया पर्वको महत्व तथा सांस्कृतिक संरक्षणका विषयमा आफ्ना धारणा राखेका थिए।
समारोहमा जितिया पर्वसँग सम्बन्धित विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत कला तथा विविध कार्यक्रम प्रस्तुत गरिएको थियो।
अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष वसुन्धरा झाको अध्यक्षतामा समारोह सम्पन्न भएको आयोजकले जनाएको छ।
